Saturday 28 April 2012

चार वर्षदेखि ओडार बास

वैशाख १७- सानो खोच। त्यसको अघिल्लो खण्डमा ढुंगा र माटोको पर्खाल। भित्र बाहिर गर्नका लागि काठको सानो ढोका। उत्तरी गोरखाको चुमचेत गाविसकी पेमा याङजुङ चार वर्षदेखि ओडारमा बस्दै आएकी छन्। 

७२ वर्षीया पेमा स्थानीय लोपसाङ धार्केको जग्गामा पर्ने ओडारमा बस्दै आएकी छन्। आफ्नो जग्गाको उब्जनीले उनलाई वर्ष दिन धान्न गाह्रो छ। अलिकति जग्गा र एउटा कुखुराबाहेक उनको श्रीसम्पत्ति नभएको धार्केले बताए। उनले भने, ''दिनभर खेतमा काम गरेर पेमा साँझपख ओडारमा फर्किन्छिन्। उनले त्यही खाना पकाएर खाने गरेकी छन्।'
चार वर्षअघि आफ्नो घरको छानामा रहेको काठे फलेक कुहिएर झरेपछि बस्ने अवस्था रहेन। त्यसपछि पेमा पुरानो घरको आडैको रहेको ओडारमा सरेकी हुन्। ओडारमा ढोका खोल्न र बन्द गर्न राखिएका दुइटा फलेकमध्ये एउटा फलेक कुहिएर जीर्ण भएको छ। लामा समुदायमा छोराले विवाह गरेपछि छुट्टिने संस्कारअनुसार पेमा एक्लै बसेकी हुन्। बाबु आमाका तीन सन्तान मध्ये दुई भाइले विवाह गरेपछि र आमा बाबुको मृत्युपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन्। 
आमा बाबु र दुवै दाजुभाइको मृत्यु भएकाले अविवाहित पेमाले हालसम्म नागरिकताको प्रमाणपत्र नपाएको उनका भदा सोनाम सिरिङले बताए। 'गाउँमा घुम्ती शिविरसमेत सञ्चालन भएको थियो,' उनले भने, 'परिवारका सदस्य कोही नभएको भन्दै फुपुलाई नागरिकता दिइएन।' फुपुले छुट्टै बस्ने भनेपछि आफूहरूले ओडारमा ढुंगाको पर्खाल उठाएर बस्ने ठाउँ बनाइदिएको छिरिङले बताए। विवाह गरेका थुपै महिलाले समेत दुःख पाएकाले आफूलाई एक्लै बस्दा त्यस्तो अप्ठ्यारो नपरेको पेमाले जनाइन्।

No comments:

Post a Comment