Saturday 28 April 2012

दलहरु सहमतिमा नपुगेपछि संविधान सभाको बैठक अन्यौलमा

काठमाडौँ, 
वैशाख १६ - कार्यतालिका अनुसार काम भएको भए यतिखेर संविधानको पहिलो तथा पूर्ण मस्यौदा जारी भएको २४ घण्टा भइसक्ने अवस्था हुन्थ्यो। तर दलहरुबीच दूरी बढ्दै गएपछि संविधान सभाको बैठकै अन्यौलमा परेको छ। संविधान सभाको बैठक लगातार सूचना टाँस गरी स्थगित हुँदै आएको छ। कार्यतालिका अनुसार दलहरु सहमतिमा नआए संविधान सभाको बैठकले बहुमतबाट निर्णय लिनुपर्ने थियो।  

राज्य पुनर्संरचना र शासकीय स्वरुपमा दलहरु अझै सहमतिमा आउन सकिरहेका छैनन्। माओवादीले १० प्रदेश र कङ्ग्रेसले सात प्रदेशको अडान राखेपछि माओवादीले फेरि १४ प्रदेश मै फर्कने चेतावनी दिइरहेको छ। 

शनिबार पनि राज्य पुनर्संरचनाका विषयमा दलहरु सहमतिमा पुग्न असफल भए। शनिबार बिहान र अपराह्न गरी दुई पटक संविधान सभामा दलहरु सहमति खोज्न बैठक बसेका थिए। तर उनीहरु कुनै टुङ्गोमा भने पुग्न सकेनन्। 

शासकीय स्वरुपमा भने मिश्रित प्रणालीमा सहमति जुटे पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीबीच कार्यकारी अधिकार के कस्तो दिने भन्ने मा सहमति जुट्न बाँकी छ। न्याय प्रणालीमा ५ वर्षका लागि संवैधानिक अदालत गठन गर्ने एउटा महत्वपूर्ण सहमति यसबीच भएको छ। तर यसको गठन प्रक्रियाका विषयमा सहमति जुट्न बाँकी छ।

-(नागरिक)

No comments:

Post a Comment